काठमाडौं । एउटा क्यासिनोको मजदुर । तलब जम्मा १० हजार रुपैयाँ । क्यासिनो सञ्चालकको सधैँ हेपाहा व्यवहार ! आफ्नो हक अधिकार खोज्दा कामबाट निकालिदिने सम्भावना पनि उत्तिकै ! यसको विकल्प के हुनसक्छ ?
माथि उल्लेखित कुरा वि.सं २०५०-५५ सालतिरको हो । जतिबेला पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ काठमाडौंको एक क्यासिनोमा मजदुर थिए । त्यसबेला उनले भोगेको जीवन कहानी हो यो ।
सहकारी सञ्चालन गर्नु अगाडि उनी काठमाडौंको एभरेस्ट क्यासिनोमा काम गर्थे । क्यासिनोमा जागिर खाँदै गर्दा त्यसको विकल्प खोज्नुपर्छ भनेर उनलाई सधैँ पिरोल्थ्यो । जागिरको विकल्पको खोजीमा लाग्दा उनीसहित केही युवा मिलेर सहकारीको यात्रा शुरु गर्ने निर्णय गरे ।
‘क्यासिनोमा पाँच वर्ष काम गरें । त्यहाँ मजदुरको रुपमा काम गर्थें । आफ्नो हक खोज्दा कारबाही गर्ने, घटुवा गरिदिने, उस्तै परे कामबाट नै निकाल्दिने सम्भावना हुन्थ्यो । त्यसरी काम गर्नुभन्दा आफ्नै नै केही काम गर्नुपर्छ, जागिरको विकल्प खोज्नुपर्छ भनेर जागिर छोडियो र सहकारीतिर लागियो’, गुरुङले सुनाए ।
त्यसपछि क्यासिनोमा सँगै काम गर्ने र अन्य चिनजानका साथीसहित २६ जना युवाको एउटा समूह बन्यो । त्यो समूहले काठमाडौंको अनामनगरमा वि.सं २०५५ सालमा रोयल बचत तथा ऋण सहकारी स्थापना गर्यो । त्यसबेला उनी संस्थापक उपाध्यक्ष बने ।
सहकारीको यात्रा सुरु गरेको ५-६ महिनामै उनीहरुले राम्रो सफलता पाए । त्यो सफलताले विभिन्न ठाउँमा शाखा खोल्ने पाइला लम्कायो । २०५६ सालमा पहिलो शाखा तनहुँ जिल्लामा खोलियो । जसको नेतृत्व गर्न गुरुङ पुगे । त्यसपछि कास्की, स्याङ्जा, चितवन, ललितपुर, मकवानपुरलगायत जिल्लाहरूमा शाखा विस्तार गरियो ।
विभिन्न जिल्लाहरूमा आक्रामक रुपमा सहकारीको पाइला लम्काइरहेको बेला एकाएक मुलुकमा केही सहकारी संस्थामा समस्या आयो । काठमाडौं केन्द्रित सहकारीहरूमा समस्या आउन थालेपछि सरकारले ब्रान्च मोडलमा सहकारी सञ्चालन गर्न रोक लगायो ।
सरकारले परिपत्र जारी गर्दै भएका ब्रान्च बन्द गरेर स्वायत्तमार्फत स्थानीयकरण गर्न भन्यो । सोहीअनुसार उनीहरुले प्रत्येक ब्रान्चमा लोकल टीम बनाए । गुरुङको भागमा पोखरा जानुपर्ने भयो । पोखरामा २०५९ जेठ ८ मा पोखरा रोयल सहकारीको नाममा स्वायत्त भएको थियो । उनी त्यसयता सोही ठाउँमा सहकारी हाँकिरहेका छन् ।
काठमाडौंमा सहकारी स्थापना गर्दा २४-२५ वर्षका २६ जना युवाले प्रतिव्यक्ति १० हजार रुपैयाँ पुँजी जुटाएका थिए । त्यो बेला धेरैले सहकारी के हो भनेर बुझेका नै थिएनन् । त्यस्तो अवस्थामा सहकारी शुरु गर्दा उनीहरूलाई केही गाह्रो पनि भयो । सहकारी बुझाउँदै बचत संकलन गर्दै सहकारी निरन्तर अगाडि बढ्यो ।
‘सहकारी बुझाउन हामी घरघरमा गयौँ । सहकारीसम्बन्धी विभिन्न गतिविधिहरू गर्यौँ । सदस्य बनाउन केन्द्रित भयौँ । त्यो बेला एकदुई जना सदस्य बनाउन मुस्किल पर्ने हामीलाई अहिले आफैं खोज्दै आउनुहुन्छ’, गुरुङले भने ।
आफूहरूले सुरु गरेको सहकारी अहिले देशकै उत्कृष्ट सहकारीका रुपमा कहलिँदा उनी दङ्ग छन् । त्यो बेलाको संघर्ष र अहिलेको सफलता देख्दा आनन्द मिल्ने उनी सुनाउँछन् ।
सहकारीमा अहिले शेयर सदस्य संख्या १० हजार १२९ पुगिसकेका छन् । ‘युवा र महिला सदस्यहरूमा बढी फोकस गरेका छौँ । अहिले सहकारीमा ७० प्रतिशत महिला र ३० प्रतिशत युवा छन्’, उनले भने ।
हाल सहकारीको प्रधान कार्यालय कास्कीको पोखरा महानगरपालिका- १० बुद्धचोकमा छ । जसको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र पर्वत जिल्ला हो । यस सहकारीले बचत तथा ऋणसँगै रेमिट्यान्स, बीमा, समूह बचत, परामर्श र सामाजिक गतिविधि गर्दै आएको छ ।
पोखरा रोयल सहकारीको सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियान चलाइरहेको छ । यसका लागि प्रविधिमैत्री सेवालाई द्रुत गतिमा अगाडि बढाएको उनले बताए ।
सीईओ गुरुङका अनुसार हाल १ हजार ९२० जनाले एटीएम सेवा, १ हजार ६९८ जनाले मोबाइल बैंकिङ, ३३३ जनाले एसएमएस सेवा र १५१ जनाले क्यूआर कोड प्रविधि प्रयोग गरिरहेका छन् । त्यसरी नै १ हजार २६० सदस्यले स्मार्ट परिचयपत्र बनाएका छन् ।
संस्थाको कारोबारलाई थप सुव्यवस्थित र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ । कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत सुरु गरिएको छ ।
पोखरा रोयल सहकारीले पेन्सनसमेत दिने गरेको छ । रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले सहकारीले पेन्सन दिँदै आएको छ ।
सहकारीका सीईओ गुरुङले भने, ‘हामी नाफाभन्दा सेवामा केन्द्रित छौँ । सदस्यको जन्मदेखि मृत्युसम्मको सहारा बनेका छौँ । शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म दिँदै आएका छौँ ।’
यसका लागि छुट्टै सहयोगी संस्था बनाइएको छ । जसको नाम रोयल फाउन्डेसन रहेको छ । यस संस्थाले पनि विभिन्न गतिविधिहरू गर्दै आएको छ ।
उनका अनुसार रोयल फाउन्डेसनमार्फत प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम दिँदै आएको छ । सहकारीले सदस्यहरूको दुर्घटना बीमासमेत गरेको छ । यसबाहेक सहकारीमा व्यवसाय विकास सेवा डेस्क स्थापना गरिएको छ । कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धान गराइन्छ ।
संस्थामा तरलता व्यवस्थापन गर्न मिसन १०० अभियानमार्फत बचत र तरलता वृद्धि गरिएको छ भने यही अभियानमार्फत संकलन भएको बचत रकमलाई सरल र सहज रूपमा लगानीसमेत गरिएको छ ।
सहकारीले सदस्य र कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार दिँदै आएको छ । सदस्य, बाल बचतकर्ता, सेवा केन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार दिँदै आएको छ । हरेक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ ।
त्यस्तै सहकारीले दर्जन बढी प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । रोयल बचत, मासिक नियमित, लाभांश, नारी, ज्येष्ठ नागरिक, छुनुमुनु, संस्थागत, भ्रमण, बीमा, रेमिट्यान्स, आवधिक र मुद्दती बचत सञ्चालन गर्दै आएको छ ।
सहकारीले १० शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ । संस्थाले व्यापार/व्यवसाय, घर/जग्गा, आवास/घर, औद्योगिक, शैक्षिक, कृषि, सवारीलगायतका शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ ।
संस्थामा रोयल स्मार्ट बैंकिङ सेवा पनि सञ्चालनमा छ । जसबाट रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध छन् ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १० हजारभन्दा बढी सदस्य छन् । संस्थाको सम्पत्ति साढे दुई अर्ब बढी छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा संस्थाको कुल सम्पत्ति २ अर्ब ५४ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको शेयर पुँजी १५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ ।
सहकारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । संस्थाको बचत निक्षेप संकलनतर्फ गत वर्षको तुलनामा वृद्धि भएको छ । यस सहकारीको बचत करिब दुई अर्ब रुपैयाँ पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्म सहकारीको कुल बचत एक अर्ब ९७ करोड ८० लाख ४४ हजार रुपैयाँ पुगेको छ । पोखरा रोयलको संस्थागत पुँजी २१ करोड ३० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा पोखरा रोयल सहकारीले एक अर्ब ६९ करोड ८१ लाख ५५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । तरलता रकम ७५ करोड २७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
सीईओ गुरुङका अनुसार बचत निक्षेपमा कम्तीमा १० प्रतिशतले वृद्धि गरिने यस सहकारीको योजना रहेको छ । अनिवार्य बचतको रकममा पनि वृद्धि गरिने योजना बनाएको छ । कुल ऋण लगानी कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने तयारी छ । ऋणको सदुपयोगिता जाँच गरिने र उत्पादनमूलक, आयमूलक र कृषि क्षेत्रमा ऋण लगानी केन्द्रित गरिने सहकारीको योजना रहेको उनले सुनाए ।
सहकारीले आफ्ना सदस्यहरूलाई व्यवसायमा जोड्ने गरेको छ । पोखरा महानगरपालिका- १० को बुद्ध चोकमा रोयल दिदीबहिनी किचन सञ्चालनमा छ । यो महिलाहरूले साढे दुई करोड लगानीमा शुरु गरेका हुन् । उनीहरूलाई पोखरा रोयल बचत तथा ऋण सहकारी जोडिदिएको हो ।
यो रेस्टुराँ सहकारीकी अध्यक्ष रुद्रकुमारी गुरुङको नेतृत्वमा सञ्चालन गरिएको छ । यसमा ९९ जना महिलाको जनही २ लाख लगानी छ । सहकारीको अवधारणाबाट सञ्चालित रेस्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ ।
सदस्य केन्द्रित सेवामा रोयल सहकारी रहेको उनको दाबी छ । सहकारीका सीईओ गुरुङ भन्छन्, ‘हामी नयाँ प्रविधि, सीपलाई आत्मसात गर्दै अगाडि बढेका छौँ । योजना बनाएका काम गर्छौँ । कामको समीक्षा गर्छौँ । विशेषगरी हामी सदस्य केन्द्रित नै भएर काम गर्छौँ ।’
उनका अनुसार सदस्यहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरी सेवा दिइरहेको छ । बुद्धचोकमै ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ । यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् ।
पोखरा रोयल सहकारीमा देशभरबाट अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन् । संस्था विभिन्न समयमा उत्कृष्ट व्यवस्थापकदेखि सर्वाधिक कर तिर्नेमा समेत सम्मानित हुँदै आएको छ । पछिल्लो पटक पनि नेफ्स्कुनद्वारा घोषणा गरिएको नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको समेत गुरुङले पुरस्कार पाएका छन् ।
पोखरा रोयल सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा समेत सम्मानित छ । आर्थिक वर्ष २०७१/७२ मा सहकारीलाई आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।
आफ्नो सेवालाई चुस्त दुरुस्त पार्न सहकारीमा विभिन्न उपसमिति गठन गरिएको छ । ऋण उपसमितिदेखि महिला, युवा, शिक्षा, स्वास्थ्यलगायतको उपसमिति गठन गरिएको छ । संस्थाले वित्तीय पहुँचभन्दा बाहिर रहेका धितो नभएका महिलाहरूलाई सरल वित्तीय सेवा प्रदान गरिरहेको छ ।
सहकारीमा सदस्य केन्द्रित कार्यक्रम गर्दै अगाडि बढ्ने हो भने सफल सहकारीको पहिचान बनाउन सकिने उनको अनुभव छ । ‘सहकारी सबै खराब छैनन् । राम्रो काम गरेका सहकारी पनि छन् । सफल सहकारीको पहिचान बनाउने हो भने सदस्यमै केन्द्रित भएर काम गरे पुग्छ’, गुरुङले भने ।
उनले सरकारको कानून मानेर अगाडि बढ्न अन्य सहकारीका सञ्चालकहरूलाई सुझाव दिए । गुरुङले सरकारले स्वायत्त गर भनेपछि हुन्छ भनेर सोहीअनुसार अगाडि बढेकाले आज सफलको ट्याग पाएको बताए ।
त्यो बेला धेरै सहकारीहरूले नटेरेका कारण अहिले उनीहरू आफैं विस्थापित भएको उनले जानकारी दिए । ‘हामी दुईचार वर्ष चलाउने भन्नेमा पटकै थिएनौँ । हामी लामो यात्रामा थियौँ । सुखी सदस्य र दिगो सहकारीको परिकल्पनासहित अगाडी बढ्यौँ । संस्थागत सुशासन कायम राख्दै सदस्यहरूमा उद्यमशीलता र रोजगारी विकास प्रवर्द्धन गर्ने अग्रणी सहकारी संस्थाको रुपमा चिनिएका छौँ’, उनले भने ।
नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । आमसमुदायसँग जोडिएको सहकारीका केहि बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले आमसमुदायकाबीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।